पिथौरागढमा नेपाल–भारतका ६५० सेनाको संयुक्त अभ्यास शुरु


४ आश्विन २०७८, सोमबार
sainya abhyas 20210920112250

काठमाडौं, ४ असोज । भारतको पिथौरागढमा आज (सोमबार) बाट नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य शुरु भएको छ ।
नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास (एक्सरसाइज) सूर्य किरण’ को नाम दिइएको छ । सैन्य अभ्यास प्रतिआतंकवाद र जंगल वारफेयरमा केन्द्रीत रहेको जनाइएको छ । भारतको उत्तराखण्डको पिथौरागढमा शुरु एक्सरसाइज सूर्य किरणको यो १५ औं संस्करण हो । सैन्य अभ्यास कार्तिक १३ गतेसम्म चल्नेछ ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गरेको छ । नेपाली टोलीमा ३०० जनाको फौज छ । भारतीय सेनाको तर्फबाट ३५० जनाको फौज सैन्य अभ्यासमा सहभागी छ । नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।

अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुने जनाइएको छ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्‍याउनेछ । अभ्यास सूर्य किरणमा नेपाली र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ ।

अभ्यास सूर्य किरणको १४ औं संस्करण नेपालमा भएको थियो । रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा ‘अभ्यास सूर्य किरण’ को १४ संस्करण भएको थियो । त्यसअघि ‘अभ्यास सूर्य किरण’ को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमा भएको थियो । नेपालमा भएको १४ संस्करणपछि कोरोना भाइरस संक्रमणका कारण अभ्यास रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७