नेपालमा हात्ती बचाउन तत्काल रणनीति नबनाए छिट्टै लोप हुन सक्छ : विज्ञ


४ आश्विन २०७८, सोमबार
Elephant 1 1

काठमाडाैं, ४ असोज । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् ।
वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ ।

नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ । एउटा हात्तीलाई कम्तिमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको विज्ञहरुले बताएका छन् ।

हात्तीले खाना र प्रजनन समागमका लागि र पुर्खा हिंड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिँड्ने गर्दछ । यसरी हिंड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिंडेको पाइन्छ । पूर्वको कोशी टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ । कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोशी टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो ।

यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने–मर्ने जोखिम हुन्छ । मानव–हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक छ ।

प्रमुख वार्डेन रामले कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए ।

संरक्षित क्षेत्रलाई मानवबस्ती र खेती गर्ने जमीन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए । संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानूनी व्यवस्थालाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको डा. ओलीले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैंसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो । २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरु, हात्तीको संरक्षणमा काम भइरहेको छ । पछिल्लो समय यस आरक्षलाई मानव–हात्ती द्वन्द्व व्यवस्थापनको काम गर्नेमा बढी केन्द्रित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७