काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन


५ आश्विन २०७८, मंगलवार
congress

काठमाडौं, ५ असोज । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समिति सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ ÷ नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ÷ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

नेपाली कांग्रेसले अन्तिम पटक बनाएको कार्यसूचीअनुसार वडा अधिवेशनका लागि एक दिन बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यता नै सार्वजनिक भएको छैन । क्रियाशील सदस्यता विवाद समाधान समितिले आइतबार धनुषा र कैलालीका विषयमा निर्णय गरेका ती दुई जिल्लाको विवादित स्थानहरुको क्रियाशील मिलाउने काम सकिएको बताइएको छ । यी दुई जिल्लाको क्रियाशील सदस्यता सूची पनि केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छैन । बाँकी रहेका १३ मध्ये ११ जिल्लामा पनि विवाद मिल्यो भन्दै आइतबार नै प्रचारवाजी भएको थियो ।

तर, क्रियाशील सदस्यता छानबिन समिति एक सदस्यकाअनुसार सप्तरी, बारा, रौतहट, रसुवा, बाँके र डोल्पाको क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन । रसुवामा संस्थापन पक्षले नयाँ शक्तिबाट आएकाहरुलाई क्रियाशील मान्नै अस्वीकार गरिरहेका कारण समस्या भएको छ भने रौतहटमा विवाद छ भन्ने कुरा संस्थापनले स्वीकार नै गरेको छैन । बाँकेमा विवाद मिलिसक्यो भनिदिने तर विवाद समाधानका लागि निर्णय नै गर्न सकेको छैन भने डोल्पामा संस्थापन कमजोर भएका कारण विभिन्न पार्टीका नाममा समायोजन समितिले गरेको निर्णय विपरीत सदस्यता थपिएका कारण समस्या आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७