नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक बस्दै


५ आश्विन २०७८, मंगलवार
nekapa samajbadi pati

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (मंगलबार) बस्ने भएको छ । एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने जनाइएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने जनाइएको छ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ ।

पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७