आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक सहायता खर्च गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवा र विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष सेफरबीच भेटघाट


५ आश्विन २०७८, मंगलवार
Deuba world bank meet

काठमाडौं, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले दाताहरुले प्रदान गर्ने सहयोग देशको आवश्यकता र प्राथमिकताका आधारमा सरकारले खर्च गर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री देउवासँग विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेट गर्ने क्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट पारेका हुन् ।

प्रधानमन्त्री देउवाले विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिद, कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न तथा भूकम्प पछिको पुनर्निर्माणलगायत क्षेत्रमा गरेको सहयोगका लागि उपाध्यक्ष सेफरलाई धन्यवाद पनि दिए ।

विश्व बैंकको सहयोगमा हाल नेपालमा दुई दर्जनभन्दा बढी विभिन्न आयोजना सञ्चालित छन् । प्रधानमन्त्री देउवाले नेपाल सरकार सुशासनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जलवायु परिर्वतनको प्रभाव न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको र आगामी दिन वातावरण सुधारका लागि थप व्यवस्थित रूपमा कार्य अघि बढाउने गरी प्रणालीको विकास गरेको समेत जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटबारे उपाध्यक्ष हार्टविग सेफरले कोभिड–१९ विरुद्धको कार्य, जलवायु परिवर्तन, कनेक्टिभिटी र आर्थिक पुनरुत्थानमार्फत् नेपाललाई अझ राम्रो बनाउन नेपाल सरकारले राखेको प्राथमिकताबाट आफू निकै उत्साहित भएको उल्लेख गरेका छन् । नेपाललाई आवश्यक सहयोग गर्न विश्व बैंक सँधै तयार रहेको पनि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७