यो देउवाजीले नेतृत्व गरेको सरकार हो, रङ्गी–विरङ्गी बनाउने कोशिसमै हुनुहुन्छ : ओली

‘मैले यसरी ह्वार–ह्वार पदक बाँडेको भए वुद्धिजीविहरु के भन्थे ?’


५ आश्विन २०७८, मंगलवार
kp sharma oli 1

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई रङ्गीविरङ्गी बनाउने प्रयासमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आफ्नो २० प्रतिशत खर्चिसकेको बताएका छन् ।

‘शेरबहादुरजीले नेतृत्व गर्नु भएको सरकार हो यो । यसमा रङ्गीबिरङ्गी मान्छेहरु छन् । अझै उहाँहरु कोशिस गर्दै हुनुहुन्छ, झन् रङ्गीविरङ्गी बनाउनका लागि । तर, अहिले पहिलेको जस्तो ६०–६५ बनाउन पाइँदैन । २५ मा सीमित बनाउनु पर्छ, त्यसमा सीमित हुन उहाँहरुलाई गाह्रो भइरहेको छ’ ओलीले कटाक्ष गरे, ‘कार्यकाल छ जम्मा सवा वर्ष । तर सवा वर्षको २० प्रतिशत भाग गयो, यत्तिकै गयो । अब खाली चिन्ता हो । देशको बहुमूल्य समय बर्बाद भयो । दुरुपयोग भयो ।’

काठमाडौंमा मदन भण्डारीको जीवनीमा आधारित एक पुस्तक विमोचन समारोहमा बोल्दै ओलीले सरकारले रत्नपार्कमा बसेर ह्वार–ह्वार बाँडेझैं पदक बाँडेको आरोप समेत लगाए । ‘अस्तीको दिन बितरण गरेको जस्तो पदकहरु हामीले बितरण गरेको भए….बा बा । अहिले त खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, अब कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि पदक दिएको छ, अब कसले बहस गर्ने ? विरोध गर्ने मिडिया, टेलिभिजनलाई पनि दिएको छ, कसले विरोध गरिदिने ? कसले बोल्ने ?,’ ओलीले अघि भने, ‘कस्तो सबैतिर मिलाएर ढ्याक ढ्याक ढोका थुन्या हो ? कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । यति गरेपछि त विरोधी नै रहेनन् ।’

अध्यक्ष ओलीले वर्तमान सरकार बनेपछि देशमा दिउँसै ग्रहण लागेको बताए । ‘दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । ग्रहणतिर नहेर्नु, धेरै काम छैन । अशुभ छ,’ उनले भने, ‘रणनीतिक सडक समेत, १४ सय सडकको बजेट रोक्नू, कार्यक्रम आयोजना सबै खत्तम । क्या बहादुर सरकार । अघिल्लो सरकारले १४ सय सडक बनाउछु भन्यो, यो सरकारले आउने बित्तिकै रोक्दियो । क्या बात् । अनि यो ग्रहण नलागेको कस्तो सरकार हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७