एमाले दक्षिणपन्थी भासमा भासिएपछि विद्रोह वाध्यता बन्यो : माधव नेपाल

‘हामी युवालाई प्रोत्साहन र पाकाको सम्मान गर्नेछौं’


५ आश्विन २०७८, मंगलवार
Madhav Nepald1629968864

काठमाडौं, ५ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनाउन वाध्य भएको बताएका छन् । आज (मंगलबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली केशरजङ्ग रायमाझी पथमा हिंडेपछि विद्रोह गरेर नयाँ पार्टी बनाएको बताएका छन् ।

‘विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछ । केशरजङ्ग रायमाझीले कम्युनिष्ट आन्दोलन विसर्जन गरेका थिए । नेकपा एमाले पार्टी रहेन गुट क्रियाशिल भए । मदन भण्डारी फाउन्डेसनका नाममा गुट बन्यो । नेकपामा पनि त्यो रोग सर्‍यो । नेकपा कब्जा गर्न खोजियो । सत्तामा पुगेपछि चरम दुरुपयोग भयो । विस्तारै जनतामा सरकार आलोचनाको विषय बन्दै गयो । राष्टियता लोकतन्त्र र समाजवाद भाँडिन थालेपछि बजेट र नीति र कार्यक्रम अघि बढेपछि समस्या भयो’, उनले भने, ‘पार्टीको समस्या समाधानका लागि कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरिएपछि विद्रोह गर्‍यौं ।’

उनले अहिले आफूहरू सम्मानजनक हैसियतमा रहेको पनि बताए । ‘षडयन्त्र अनेक भएका थिए हामीले चकनाचुर बनायौं । त्यसैले अहिले मुलुकमा गठबन्धनको सरकार छ । प्रदेश सभामा पनि हामी सुदूर र २ मा ठूलो दलको रूपमा छौं । कर्णालीले विद्रोहको ज्वाला दन्काएको थियो । ३ मा पनि संसदीय दलको नेता चुनेर सरकार बनाउन तमतयार हुनु भएको छ । लुम्बिनीमा खाता खोल्न सफल भएका छौं । गण्डकीको भेलामा गरेका थियौं, त्यहाँ कार्यालय खोलेर व्यवस्थित तरिकाले काम अगाडि बढेको छ’, उनले भने ।

आफूहरू यथास्थितिवादी नभएको दाबी गर्दै उनले दलाल पुँजीवादको विरोध गर्ने बताए । ‘हामी राष्ट्रिय पुँजीलाई जोड दिन चाहन्छौं । दलाल पुँजीवादको विरोध गर्नेछौं । विज्ञान प्रविधिमा जोड दिनेछौं । समावेशिताको मान्यतामा अघि बढने छौं । काम गर्नेलाई प्रोत्साहन गर्नेछौं । युवालाई प्रोत्साहन र पाकाको सम्मान गर्नेछौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७