चिडियाखानाको आम्दानी आधा घट्यो


६ आश्विन २०७८, बुधबार
watch zoo from mobile and computer 8325

काठमाडौं, ६ असोज । कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण मानिसहरू घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले घटेको छ । कोभिड–१९ सुरु हुनुभन्दा पहिले वार्षिक १५ करोडसम्म आम्दानी हुने चिडियाखानमा गत वर्ष सात करोड मात्र आम्दानी भएको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिए ।

‘पहिले मानिसहरु उत्साहका साथ अवलोकन गर्न आउथे । हाल त्यो अवस्था छैन,’ चालिसेले भने, ‘अहिले दैनिक ५ सय मानिस मात्र आउँछन् । कोरोना अघिसम्म दैनिक २५ सय सम्म आउने गरेका थिए ।’ पहिलो पटक लकडाउन हुँदा आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई चिडियाखाना पुनः खुला गरिएको थियो । लामो समय बन्द रहँदा खर्च व्यवस्थापनमै समस्या भएपछि कोरोनाको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका उपाय अपनाई चिडियाखाना अवलोकन गर्ने व्यवस्था गरिएको थियो ।

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने छ भने जनावरलाई खुवाउन, छुन पाइने छैन । अहिले पनि यही मापदण्ड कायम छ । यसअघि झैं हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि खुला गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजन्तु छन्। त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । चिडियाखानामा रहेका प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रकारका जन्तुलाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका गर्न विदेशीको लागि एक हजार तथा सार्क राष्ट्रका नागरिकका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपालीलाई भने २ सय शुल्क तोकिएको छ । यसैगरी चिडियाखानाले नेपाली विद्यार्थीका लागि १३५ र ज्येष्ठ नागरिकका लागि १ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने चिडियाखाना प्रशासनले प्रवेश शुल्कबाट नै वार्षिक १५ करोडसम्म आम्दान गर्दै आएको छ । प्रवेश शुल्कबाट आएको आम्दानीले नै कर्मचारी र जनावरलाई खाना खुवाउने कामको व्यवस्थापनमा खर्च हुन्छ ।

चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यसलाई निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । सोहीअनुरुप कोषले व्यवस्थापन गर्दै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७