मुक्तिनाथ मन्दिर ६ महिना पछि सर्वसाधारणका लागि खुल्दै


६ आश्विन २०७८, बुधबार
muktinath scaled

मुस्ताङ, ६ असोज । कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।

हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो । कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको बताए ।

मुस्ताङ प्रबेश गर्नका लागि कोरोना परीक्षण गरेको पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिइने निर्णय भएको छ ।

कोरोना खोप लगाएका कर्मचारी तथा सर्वसाधारणले सहज प्रबेश पाउने छन् । सरकारले सहर बजारका पार्टी प्यालेसदेखि विभिन्न प्रतिष्ठान र विद्यालय सम्म खोल्ने निर्णय गरे पछि मुस्ताङमा समेत कोभिड–१९ संकट व्यवस्थापन समितिले ६ महिनाबाट बन्द रहेको मन्दिर खुला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७