अध्यादेश खारेज नभई मन्त्रीकाे नाम नपठाउने उपेन्द्रको अडान

गठबन्धनका नेताले कानुनविदसँग छलफल गर्दै


६ आश्विन २०७८, बुधबार
Bipaxi 5 dal

काठमाडौं, ६ असोज । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्ने भएका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए ।

गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो ।

अध्यादेश खारेज भएपछि मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भएको एक नेताले जानकारी दिए । यादवले अध्यादेशले तत्काल राजनीतिक पार्टी र भविष्यमा मुलुकलाई अस्थिरतातर्फ लैजाने भएकाले तत्काल खारेज गर्नुपर्ने अडान राखेका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने ।

मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठक समेत राखेको छैन । यादवले आज जसपाको कुनै बैठक नरहेको बताए ।

यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै खारेज हुने उनको भनाइ छ । ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ,’ यादव भन्छन् ‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।’ केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७