मन्त्री छनोटले कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षले बोलायो बैठक


६ आश्विन २०७८, बुधबार
ramchandra paudel
फाइल फोटो

काठमाडौं, ६ असोज । मन्त्री छनौटमा असन्तुष्टि जनाउँदै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्षले आन्तरिक छलफल गर्न लागेको हो । यसअघि पनि देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्टी जनाएको थियो ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको उनले बताए ।

समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउने छिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवाले आज आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेको छन् । परराष्ट्रमन्त्रीमा पौडेल पक्षबाट सुजाता कोइराला र मिनेन्द्र रिजालको दाबी थियो । उद्योगी विनोद चौधरीले पनि इच्छा राखेका थिए । तर देउवाले खड्कालाई रोजेका छन् । सरकारका सन्दर्भमा देउवा एकलौटी अगाडि बढ्न खोजेको भन्दै पौडेल पक्षले आफ्नो रणनीति बनाउने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७