भारतमा सक्रिय संक्रमितको संख्या ६ महिना पछिकै सबै भन्दा थोरै


६ आश्विन २०७८, बुधबार
korona india 2

नयाँदिल्ली, ६ असोज । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो संख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सक्रिय संक्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७