ललिता निवास प्रकरणमा गच्छदारको प्रष्टिकरण : मेरो राजनीति समाप्त पार्न झुटा मुद्दा हालियो

‘अहिले मेरो घर समेत छैन, डेरामा बस्दै छु’


६ आश्विन २०७८, बुधबार
Bijaya kumar gachhadar

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा तानेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् ।

उनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । ‘करिब डेढ वर्षको मौनतापछि तपाईंहरुसामु उभिएको छु । मेरो आधा शताब्दी लामो राजनीतिक करियरमा आक्रमण गरी ध्वस्त पार्ने प्रयास भयो । ललिता निवास जग्गा प्रकरणमा तानेर मेरो राजनीति समाप्त पार्ने प्रयास भयो’, उनले भने, ‘अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो ।’ उनले संवैधानिक आयोग नै प्रतिशोधमा उत्रिएको आरोप लगाए । उनले अख्तियारले शीर निहुर्‍याएर मुद्दा सर्वोच्च लगेको बताए ।

जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको बताए । ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पुर्‍याएको अवस्था छैन’ उनले भने । गच्छदारले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको पनि आरोप लगाए । ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ उनले भने । उनले आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि बताए ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । अख्तियारले यसै विषयमा गच्छदार समेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७