राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय


६ आश्विन २०७८, बुधबार
Bankariya Community

मकवानपुर, ६ असोज । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् । ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अंगमा आफूहरु पनि सामेल हुन थालेकोमा खुशी लागेको बताए ।

प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्तति अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको बताए । नेपालभर जम्मा ९१ जना रहेको वनकरिया समुदायका ३० जनाले गाउँपालिकाले सञ्चालन गरिरहेको शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेका छन् । मनहरि–४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, ‘केही वर्ष अघिसम्म वनमा आधारित जीवन शैली रहेको वनकरिया समुदाय अहिले शिक्षित हुँदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएकोले हामीलाई पनि खुशी बनाएको छ ।’ वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रा समेत भएको उनले बताए ।

वनकरिया समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए । मनहरि–४ का वडासचिव विदुर पाठकले १० दिनसम्मको शिविरमा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविर सञ्चालनको समय पाँच दिन थपिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७