माथिल्लो अरुण तत्काल अघि बढाउन स्थानीयको माग


६ आश्विन २०७८, बुधबार
upper arun tatkal qsyfOQ5IRT

संखुवासभा, ६ असोज । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको १,०६१ मेगावाटको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयवासीले माग गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधवार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयवासीले आयोजनाको जतिसक्दो छिट्टो निर्माण शुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

माथिल्लो अरुण जलविद्युत् आयोजना प्रभावित सरोकार मञ्चका अध्यक्ष लादर भोटेले आफ्नो भूगोलबाट बनेको पानीबाट उत्पादित बिजुली बाल्न आतुर रहेकाले आयोजनाको निर्माण जतिसक्दो छिट्टो शुरु गर्नुपर्ने बताए । ‘आयोजना बन्न लागेकोमा खुशी छौं, आयोजनासँगै सडक निर्माण हुने भएकाले गाडी चढ्न पाउने छौं, विद्यालय तथा स्वास्थ्य क्षेत्रको सुधार हुनेछ’, भोटेले भने, ‘आयोजनाको अनुगमन गर्ने र हेरेर जाने मात्रै हैन वास्तविक रूपमै निर्माण शुरु गर्नुपर्‍यो, स्थानीय रूपमा हुने अवरोध हटाएर आयोजना सफल बनाउन तयार छौं ।’

मन्त्री भुसालले आयोजनाको अहिले भइरहेको विस्तृत अध्ययनलाई जतिसक्दो छिट्टो सक्ने र लगानी स्वरूप टुङ्गो लगाएर निर्माण शुरु गर्ने बताए । ‘आयोजना चर्चामा आउने तर दशकौंसम्म निर्माण नहुने अवस्था छ, यसको अन्त्य गरी माथिल्लो अरुण स्थानीय नागरिकले लाभ पाउने गरी निर्माण गर्न हरसम्भव प्रयास गरिरहेका छौं’, उनले भने, ‘आयोजनाको लाभको हकदार स्थानीय नागरिक नै भएकाले निर्माणमा सहयोग गर्नुहोला ।’

सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेञ्जर’ आयोजनाको रूपमा अगाडि बढाउने बताएको छ । ‘जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चार अङ्क (Four Digit) को जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैँक, युरोपेली लगानी बैंकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । आयोजनामा सङ्घीय, प्रदेश र पालिकाको पनि लगानी रहने छ ।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत एक अर्ब ३८ करोड अमेरिकी डलर (झण्डै एक खर्ब ६१ अर्ब रुपैयाँ) रहेको छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । प्राधिकरणले माथिल्लो अरुणकै अङ्ग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यस वर्षबाट अधिग्रहण र झन्डै २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने एक सय ८० हेक्टर जग्गामध्ये एक सय २० हेक्टर अधिग्रहण गर्नुपर्ने छ । आयोजनाबाट २५ घर परिवार विस्थापित हुने छन् ।

सन् २०२२ मा सबै अध्ययन सक्ने र २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनाका साथ काम भइरहेको छ । आयोजनाको निर्माण सन् २०३० भित्र सक्ने लक्ष्य राखिएको छ । विश्व बैंकको एक करोड ३१ लाख डलर सहुलियतपूर्ण ऋणमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ ।

ऊर्जा मन्त्री भुसाल नेतृत्वको टोलीमा ऊर्जा सचिव देवेन्द्र कार्की, अर्थ सचिव मधुकुमार मरासिनी, विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका उपाध्यक्ष हार्टविग सोफर, कार्यकारी निर्देशक मोहम्मद हसन अहमदलगायत थिए । टोलीले आयोजनाको मुख्य संरचना र विद्युत् गृह निर्माणस्थलकको अवलोकन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७