विप्लवको चेतावनी : सरकारले तीन बुँदे सहमति पालना नगरे तोड्छौं

‘एमसीसी ल्याउनेलाई छाड्दैनौं’


६ आश्विन २०७८, बुधबार
1632319361 biplav 1200x560 1

कास्की, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना नगरे त्यसलाई तोडेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुले त्यसलाई तोड्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यसअघिको सरकारसँग गरिएको तीन बुँदे सहमति पालना नभएकोमा तीब्र रोष प्रकट गरेका छन् । आफू निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले सम्झौता लागू नभए आन्दोलन गरिने उद्घोष पनि गरे ।

तत्कालीन केपी ओलीको सरकारले गएको फागुन २१ गते विप्लवसँग ३ बुँदै सम्झौता गरेको थियो । सम्झौतासँगै विप्लवमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको थियो भने जेलमा रहेका विप्लवका कार्यकर्तालाई छुटाउने सरकारी प्रतिवद्धता थियो । ‘केपी ओलीसँग एउटा विश्वास गरेर सहमति गर्‍यौं, त्यसपछि शेरबहादुर देउवासँग भेटेर राम्रै कुराकानी भयो, उहाँले लागू हुन्छ पनि भन्नुभयो तर ६ महिना बित्यो । साथीहरु बिरामी हुनुहुन्छ । जेलमा हुनुहुन्छ । यो कुनै दयामायाको कुरा हैन नि’,उनले भने, ‘किन लागू गर्नु हुन्न तपाईंहरु लागू गर्नुहोस्, लागू गर्नु भएन भने जनतालाई साथमा लिएर लागू गराउनु पर्छ ।’

‘सहमति गर्ने लागू नगर्ने के हो यो ? के तपाईंहरु हामीलाई अर्को कुनै दबाबमा राख्न चाहनुहुन्छ ? अप्ठेरोमा पार्नपर्छ भन्ने ठान्नुहुन्छ ? हामीले तीन बुँदे गरेका छौं । त्यसमा इमान्दार छौं । शान्तिपूर्ण मान्न तयार छौं,’ उनले भने, ‘तर, अर्को कुनै शर्त थोपरिन्छ भने, जेलका साथीहरुलाई छुटाउनका लागि कुनै घुमाउरो तरिकाले घेरा हाल्न खोजिन्छ भने घेरा तोडिदिन्छौं ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तत्कालीन सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्नेलगायत सहमति भएको थियो ।

‘एमसीसी ल्याउनेलाई छाड्दैनौं’

महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् । उनले नेपालको ‘राजनीतिक भाँडभैलो’ र ‘असफल’ राज्यमा अमेरिकाले फाइदा उठाएर हिँड्न चाहेको दाबी गरे । ‘एमसीसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ । यो गर्नु हुँदैन । तलतल काम भइसकेको (एमसीसीको) सुनेका छौं,’ उनले भने, ‘जनताको अनुमति बिना त्यो गर्नु हुँदैन, जनताको सहमति बिना एमसीसीलाई जबरजस्ती लागू गरियो भने त्यो सम्भव छैन ।’

विप्लवले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको एमसीसीबारेको तर्क सुनेर आफूहलाई अनौठो लागेको बताए । ‘अमेरिका गएर फर्किएपछि बाबुरामजीको तर्क सुन्दा अनौठो लागिरा’छ,’ उनले भने, ‘सिन्धुलीमा गएर यो किन विरोध गर्ने ? जेको पनि विरोध गर्ने भन्नु भएछ । बाबुरामजी त्यहाँ पुग्नुभा’छ । हाम्रो एकदम शदासयता छ । तर, एमसीसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नु जस्तै हो ।’

उनले एमसिसी जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाई पनि नछाड्ने चेतावनी दिएका हुन् । एमसिसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ । यो नगरौं, यो गर्नु हुँदैन’, उनले भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन । त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाई पनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ उनले एमसिसी राष्ट्रघाती भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७