अमेरिकाले विश्वलाई थप ५० करोड डोज खोप अनुदानमा दिने


प्रकाशित मिति : September 23, 2021

काठमाडौं, ७ असोज । संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई कोभिड १९ विरुद्धको थप ५० करोड डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ ।

त्यसरी अनुदानमा दिनका लागि खोप खरिद गर्ने तयारी गरिएको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । यो प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिने चाहना देखाएको छ ।

बाइडेन प्रशासनका वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, ‘बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर खोप खरिद गर्ने घोषणा गर्नु हुनेछ ।’

निःशुल्क अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब डोज खोप संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् । अमेरिकाले अनुदानमा दिने खोपको ढुवानी आगामी जनवरीदेखि सुरु हुने छ । ‘जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउने छ,’ उनले भने । अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोडभन्दा बढी कोभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकाले नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १ सय देशहरूमा झण्डै १६ करोड मात्रा खोप ढुवानी गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्