नोबेलमा शल्यक्रिया गरेर ढाडबाट निकालियो पाँच किलोको मासुको डल्लो


७ आश्विन २०७८, बिहीबार
तगयचच EazqjDIzCP

मोरङ, ७ असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट पाँच किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।

ढाडमा पलाएको बोसो मिश्रित मासुको पाँच किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा. अमित भट्टराईले बताए । ‘उहाँको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासु पलाएको रहेछ, धेरै बर्षअघिदेखि ढाडमा पाँच किलोको मासुको डल्लो बोकेर बसिरहनु भएको रहेछ,’ डा. भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौ, अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौं ।’

डा. भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । बिरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनएसथियोलोजिष्ट प्रा.डा.सीआर दासले सहयोग गरेका थिए । करिब १० बर्षअघि तामाङको गर्धनभन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रुपमा बढ्दै गएर ठूलो भएको हो । ढाडमा अस्वभाविक रुपमा मासुको डल्लो बढेपछि तामाङलाई हिँडडुल गर्न र सुत्न निकै समस्या हुने गरेको थियो । उनी बर्षौ अघिदेखि ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका थिए ।

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो बिमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो, सधै भारी बोकेर बासि रहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो । १० बर्षदेखि बोक्दै आएको भारी बिसाए जस्तो भएको छ ।’ यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्युमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७