तालिबान आउने डरले अमेरिकामा सार्क बैठक स्थगन


७ आश्विन २०७८, बिहीबार
un mahasava B6FyKuyvwE

काठमाडौं, ७ असोज । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभाका क्रममा गर्ने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द गरिएको छ ।

अफगानिस्तानबाट तालिबान प्रतिनिधि आउने सक्ने सन्त्रासले तय भइसकेको बैठक स्थगन गरिएको हो । अफगानिस्तान पनि सार्कको सदस्य मुलुक हो । सार्क सचिवालयले भने सदस्य मुलुकबीच सहमति नजुटेकाले बैठक रद्द गरिएको दाबी गरेको छ । तर सहमति नहुनाको कारण खुलाइएको छैन ।

हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल हो । नेपालले यही असोज ९ गते मन्त्रीस्तरीय बैठक राख्ने प्रस्ताव गर्दै अफगानिस्तानबाहेक सार्कका अन्य सदस्य राष्ट्रलाई निमन्त्रणा गरेको थियो । बुधबार मात्र तालिबानले राष्ट्र संघका लागि अफगानिस्तानका तर्फबाट नयाँ राजदूतका रूपमा सुहेल शाहिनलाई पठाएको छ भने महासभामा बोल्न पाउनुपर्ने भन्दै पत्राचार गरिसकेको छ ।

यसपछि अफगानिस्तानमा तालिबानको सरकार बनेकामा असन्तुष्ट भारतसहितका सार्क सदस्य राष्ट्रले बैठकमा न्युयोर्कस्थित तालिबान कूटनीतिक प्रतिनिधि निम्तो नभए पनि आए भने के गर्ने भनेर नेपालसँग सोधेका थिए ।

यस विषयमा नेपालले आफ्नो भूभागमा भए रोक्न सकिन्थ्यो तर अमेरिकामा भन्न सकिन्न भन्ने जवाफ दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसपछि सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक रद्द गरिएको हो । बैठक न्युयोर्कको एक होटलमा गर्ने भनिएको थियो । गत अगस्ट १५ मा राजधानी काबुल कब्जा गर्दै तालिबान संगठनले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको हो । त्यहाँ उसले आफ्नो सरकार समेत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७