ढुक्क हुनुस् एमसीसीका कारण गठबन्धन टुट्दैन : प्रचण्ड


७ आश्विन २०७८, बिहीबार
Prachanda 2

काभ्रे, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए । ‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ उनले कार्यकर्ता माझ भने ।

हाल सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर यो गठबन्धनमा नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने अरु दलहरु अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन् । बिहीबारको कार्यक्रममा प्रचण्डले एमसीसीलाई अगाडि ल्याएर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए ।

अध्यक्ष प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फासिस्टको संज्ञा दिएका छन् । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को भेलामा सहभागी हुन बिहीबार काभ्रे पुगेको अध्यक्ष प्रचण्डले ओलीलाई हरुवा, भगौडा र फासिस्टको संज्ञा दिएका हुन् । ‘केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन्’, उनले भने, ‘उनी हिन्दु अतिवादीका अहंकारी र दलाल पनि हुन् ।’ प्रचण्डले ओली जस्तो अहंकारी, दम्भ भएको र फासिष्टलाई ७० प्रतिशत बहुमतले कारबाही गरेको भन्दै विदेशी षड्यन्त्रका कारण मात्र उनी कारबाहीबाट जोगिएको दाबी गरे ।

‘केपी ओली जस्तो मुर्ख र बुद्धिहीन मान्छे मैले देखेको छैन’, प्रचण्डले भने, ‘पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले केपीले भाँडेको हो । विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ ।’ ‘केपी हरुवा हो, केपी भगौडा हो, कम्युनिष्ट आन्दोलनबाट भागेको हो, मार्क्सवादसँग हारेर भागेको हो’, प्रचण्डले भने, ‘हामी विजेता हौं, केपी हरुवा हो भन्ने कुरा याद राख्नुहोला ।’

उनले घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेताहरूले ओलीसँग आत्मसमर्पण गरेको भन्दै उनीहरू ढिलोचाँडो ओलीसँग बस्न नसकेर बाहिरिने दाबी गरे । ‘हामीले केपी ओली जस्तो अहंकारी र विदेशीको दासलाई संसदीय दलको नेताबाट हटाएर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया थालेका थियौं’, प्रचण्डले भने, ‘केपीले विदेशीको इसारामा संसद् विघटन गरेर प्रतिक्रान्तिको बाटो लिएपछि बल्ल उपलब्धि जोखिममा परेको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७