दशैंको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि, उपत्यकाका १४ स्थानमा ‘यात्रु सहायता कक्ष’

फर्जी, टिकट कालोबजारी र पकेटमारको निगरानीमा सादा पोसाकका प्रहरी खटाइने


७ आश्विन २०७८, बिहीबार
tickt

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरूका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभागले आज (बिहीबार) यातायात व्यवसायी, ट्राफिक प्रहरी महाशाखाको संयुुक्त छलफलले लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ सञ्चालन गर्ने निर्णय गरेको हो ।

असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिऐ । सिटौलाले भने, ‘अग्रिम टिकट बुकिङ खुल्नेसम्म सरकारलाई भाडादर समायोजन गर्ने अपेक्षा राखेका छौं । सडक मर्मतका लागि पनि छलफल भएको छ । सडक मर्मत गरेर गाडि गन्तव्यस्थलसम्म पुर्‍याउने वातावरण त्यतिञ्जेलसम्म होला ।’ यातायात व्यवस्था विभागले यसपालिको दशैंमा १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ ।

उपत्यकाका १४ स्थानमा ‘यात्रु सहायता कक्ष’
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरी आज (बिहीबार) देखि विधिवत रुपमा सेवा दिन शुरु गरेको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृत, स्थानिय प्रहरी, यातायात व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष, ट्राफिक स्वयमसेवक, बिभिन्न संघसंस्थाका प्रतिनिधि र यात्रुहरूको उपस्थिति रहेको थियो ।

टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरुप नयाँ बसपार्कमा कक्ष स्थापना गरि सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । उनले तथा यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्य रहेको बताए ।

कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसूचित गराउने, जनचेतनामूलक पर्चा पम्प्लेट बितरण गर्नेछ । त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिए । यात्रु सहायता कक्ष भएका स्थानहरुमा निःशुल्क मास्क वितरण समेत हुनेछ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ। आजबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको छ ।

आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङमा कक्ष राखी संचालनमा ल्याइने जानकारी महाशाखाले दिएको छ । दशैंमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ खुला हुने हुँदा त्यस्ता स्थानहरुमा यात्रुको भिडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरु सक्रिय भई काम गर्ने छन् ।

कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रुलाई सास्ती दिने अनधिकृत व्यक्तिहरु माथि निगरानी गर्ने, पकेटमार लगायतका गतिबिधि निगरानी गर्न छुट्टै सादा पोसाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताए ।

चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैँदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रवक्ता दासले जानकारी दिए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायी रहने छन् ।

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरि सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढ्न सक्ने हुनाले त्यसलाई न्युनिकरण गर्न समेत सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७