वैशाखसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री


७ आश्विन २०७८, बिहीबार
deuwa 1

काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । आज (बिहीवार) हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःखेसो गरे । प्रधानमन्त्री देउवाले भने, ‘अघि वासुदेव वर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई, कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिति छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त, अत्यन्तै दुखित भएको छ ।’

उनले थपे, ‘म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने विश्वास दिलाउन चाहन्छु । मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसक्ने हाम्रो योजना छ । अहिले कोभिडको खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नका लागि हामी अवश्य नै काम गर्नेछौं ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने काममा लाग्न सरकार तयार रहेको बताए । उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यम खोजमूलक र सत्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए ।

उनले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकाले विभिन्न सांस्कृतिक, ऐतिहासिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकाले त्यो काम हट्नुपर्ने बताए । उनले सरकारको टेलिभिजन भए पनि सबैलाई निष्पक्ष रूपले हेर्नुपर्ने बताए ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

दुर्घटनामा नेपाल टेलिभिजनका पत्रकारद्वय हेम र सुनिलको निधन भएको थियो । त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव वर्माले पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७