नेपाल खुला छ


८ आश्विन २०७८, शुक्रबार
tourist
फाइल फोटो

काठमाडौं, ८ असोज । सरकारले झण्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ । कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो । महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

यससँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने सरकारको अनुमान छ । जसकारण व्यवसायी उत्साहित बनेका छन् । पर्यटकलाई ससर्त आउन दिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको छ । उक्त आदेशले पूरा डोज खोप लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेको छ । व्यवसायीले खोपको मात्रा पूरा गरेकाहरूका हकमा क्वारेन्टाइनको व्यवस्था हटाउन माग गर्दै आएका थिए । खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण र हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिएको छ ।

यी प्रक्रिया पूरा गरी आउनेलाई आगमन बिन्दुमा नै अनअराइभल भिसा दिइने मन्त्रालयले जनाएको छ । खोप नलगाएकाहरू भने आफ्नै खर्चमा १० दिन होटल क्वारेन्टाइन बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षणपछि नेगेटिभ आए गन्तव्यमा जान पाउने छन् । पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिसमेत देखाउन ुपर्नेछ ।

पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाणसमेत साथमा बोक्नु पर्नेछ । सम्बन्धित नियोगबाटै भिसा लिन चाहने पर्यटकले पनि माथिका सर्त नै पालना गर्नुपर्नेछ । खोपको डोज पूरा नगरेकाले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । उनीहरूलाई एजेन्सीमार्फत मात्र नेपाल भ्रमणका लागि अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा परीक्षणको व्यवस्था मिलाइने प्रवक्ता अधिकारीले बताए ।
कोभिडका कारण थला परेको पर्यटन उद्योगले २ खर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको छ । नेपाल पर्यटन बोर्डले प्रतिमहिना १० अर्ब बराबरको नोक्सानी भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

कोभिडअघि २०१९ मा ११ लाख ९७ हजार नेपाल भित्रिएका थिए । तर, २०२० मा पर्यटकको संख्या ह्वात्तै घटेको थियो । यो वर्ष जम्मा २ लाख ३० हजार पर्यटक आएका थिए । सन् २०२१ को ८ महिनामा ६६ हजार मात्र पर्यटक नेपाल भित्रिएका छन् । एक जना पर्यटकले दैनिक औसत ५० अमेरिकी डलर खर्च गर्ने गरेको र औसत बसाइ दर १२ दिनको रहेको छ । होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७