कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?


८ आश्विन २०७८, शुक्रबार
kathamandu

काठमाडौं, ८ असोज । आज (शुक्रबार बिहान) मौसम देशभर आंशिक (थोरै आकाशमा मात्र बादल लागेको) देखि सामान्य (धेरैजसो आकाश बादलले ढाकेको) बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । ‘काठमाडौं र पूर्वी भागमा आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहने छ’, मौसमविद् पौडेलले भने, ‘दिउँसो केही समय बदली भए पनि वर्षा गराउने मौसमी प्रणाली विकास भइसकेको छैन ।’ काठमाडौंमा दिउँसो केही समय मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना छैन ।

पश्चिम नेपालका केही स्थानमा भने पानी पर्ने सम्भावना रहेको छ । भैरहवा, नेपालगञ्जलगायत क्षेत्रमा वर्षा हुने पौडेलको भनाइ छ । यद्यपि, ठूलो वर्षा भने नहुने उनी बताउँछन् । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज धेरै स्थानमा मौसम सफा रहे पनि मनसुनी प्रणाली भने सकिएको छैन । त्यसैले कुनै पनि बेला मनसुनी प्रणाली थप सक्रिय भएर वर्षा हुने मौसमी प्रणाली विकास हुने सम्भावना रहन्छ । सामान्यत अक्टोबर २ सम्म मनसुनी प्रणाली रहने जल तथा मौसम विज्ञान विभागले जनाउँदै आएको छ । तर, यसमा केही दिन अगाडि वा पछाडि पनि हुनसक्ने मौसमविद् पौडेल बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७