न्युयोर्कमा परराष्ट्रमन्त्री, विभिन्न देशका विदेश मन्त्रीसँग भेटवार्ता गर्दै


८ आश्विन २०७८, शुक्रबार
Narayan Khadka 20210922032600

काठमाडौं, ८ असोज । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनः स्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले यही असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुई पक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालले जानकारी दिइन् । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७