उपेन्द्रलाई सरकारमा जान पार्टीभित्रै दबाब


८ आश्विन २०७८, शुक्रबार
Upendra Yadav

काठमाडौं, ८ असोज । राजनीतिक दलसम्बन्धी अध्यादेशको कारण देखाउँदै सरकारमा जान ढिलो गरेपछि जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पार्टीभित्रै दबाब परेको छ । जसले गर्दा उनी अहिले दोहोरो तनावमा परेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभई सरकारमा सरकारमा गए पार्टी फुट्ने डर छ । अर्कोतिर, सरकारमा जान ढिलो गरेपछि मन्त्रीका आकांक्षीहरूले दिनदिनै अध्यक्षलाई दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ ।

पुरानो राष्ट्रिय जनता पार्टी (राजपा) का ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन्। तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन् । जसपाका एक नेता भन्छन्, ‘मन्त्री हुनकै लागि कित्ता परिवर्तन गरेका सांसदहरू मन्त्री हुन पाएनन् भने पार्टी फुटाउने अवस्था रहन्छ ।

त्यसमा पनि जस जसलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्, उनीहरू मन्त्री हुन पाएनन् भने यादवसँग चिढिने निश्चित छ । त्यसैले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा नजाने अडान यादवले लिएका छन् । जसपाका पाँच सांसदले चाहने बित्तिकै जसपा फुट्ने अवस्था छ । जसपामा २० सांसद छन् । पार्टी फुटाउन २० प्रशित पुर्‍याउन पाँच जना सांसद भए पुग्छ । मन्त्री हुन लबिङ गरिरहेका जसपाका नेताहरूले जतिसक्दो चाँडो सरकारमा जान अध्यक्षलाई दबाब दिने गरेका छन् ।

पार्टीबाट कसलाई नेतृत्व गरेर पठाउने भन्ने विषयमा पनि पार्टीभित्रै विवाद छ । अध्यक्ष यादव आफैँ सरकारमा गए भने उनले नेतृत्व गर्नेछन् । तर, उनी गएनन् भने पार्टीबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र महेन्द्र यादवले पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन् ।
संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीबाट नेतृत्व गर्दै श्रेष्ठलाई सरकारमा पठाउन चाहेका छन् । रेणु यादव तथा महेन्द्र यादव दुवैले आफैंले नेतृत्व गर्न चाहेका छन् । यादवनिकट स्रोतका अनुसार उपप्रधानमन्त्री नपाए उनी सरकारमा जाने छैनन् ।

प्रधानमन्त्री देउवा भने सकेसम्म यसपटक उपप्रधानमन्त्री पद राख्ने पक्षमा छैनन् । यादवलाई उपप्रधानमन्त्री दिने बित्तिकै अरू तीन उपप्रधानमन्त्री थप्नुपर्ने र यसबाट सरकार अलोकप्रिय हुने देउवाको बुझाइ छ । स्रोतका अनुसार यादवले सर्लाहीका दुई सांसद महेन्द्र यादव र प्रमोद साहको नाम सिफारिस गर्ने सम्भावना छ । यादव र साह सुरुमै कित्ता परिवर्तन गरी महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर लागेका हुन् ।

यादव निकट स्रोतका अनुसार अध्यक्ष यादवले पर्साका दुई सांसद रामसहाय यादव र प्रदीप यादवमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन् । रामसहाय र प्रदीप यादव अहिलेसम्म सरकारमा गएका छैनन् । रामसहाय पूर्व समाजवादीका महासचिव पनि हुन् । लुम्बिनी प्रदेशबाट यादवले इस्तिायक राई र अमृता अग्रहरीमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन् । ‘लुम्बिनी प्रदेशबाट दुईमध्ये एक या दुवै समेटिने सम्भावना छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार यादव सरकारमा गएनन् भने सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार यसपटक यादवले महिलाका तर्फबाट रेणु यादव र अमृता अग्रहरीमध्ये एकलाई सरकारमा पठाउने सोच बनाएका छन् ।
केपी ओली नेतृत्व सरकारमा सहभागी भएका सांसदलाई यसपटक सरकारमा नपठाउने नीति बनाएको जसपाका अर्का एक कार्यकारिणी सदस्यले बताए । यो नीति कार्यान्वयन भए राजकिशोर यादव र रेणुका गुरुङ यसपटक सरकारमा जान पाउने छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७