च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक, विधान संशोधन प्रस्तावमाथि छलफल


८ आश्विन २०७८, शुक्रबार
uml

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक जारी छ । शुक्रबारबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठक शनिबारसम्म चल्ने छ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । यस अगाडि बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो । विधान महाधिवेशनका लागि एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल संयोजक रहेको संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति, रामबहादुर थापा संयोजक रहेको व्यवस्थापन समिति सदस्य बनाएको थियो ।

एमालेको १० औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ । स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख छ । गत साउन २५ गतेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव पारित गरेको थियो । तर, मध्यमार्गी नेता एमालेमै बसेपछि उनीहरूको प्रस्तावमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो ।

त्यस्तै, नवौं महाधिवेशनबाट पारित विधानमा नेतृत्वका लागि ७० वर्षे उमेर हद राखिएको थियो। जुन उमेर हद अहिले पनि कायमै रहने भएको छ । यसअनुसार केही नेता आगामी महाधिवेशनबाट बिदा हुने भएका छन् । त्यसैगरी, विधानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव रहने प्रस्ताव गरिएको छ । नवौं महाधिवेशनबाट १ सय ५९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । आगामी विधान महाधिवशेनमा २ सय २५ केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव गरिएको छ ।

नेकपा माओवादी केन्द्रसँग एकतापछि संगठनात्मक अराजकता संस्थागतरुपमा भित्रिएको एमालेले निष्कर्ष निकालेको छ । एमालेको स्थायी कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत गरिएको संगठनात्मक प्रतिवेदनमा माओवादीसँग एकतापछि पार्टीमा संस्थागतरुपमा गुटबन्दी र अराजकता भित्रिएको उल्लेख थियो । एमालेको विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७