साढे २२ करोडको आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर


८ आश्विन २०७८, शुक्रबार
IPO

काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावरले यही असोज १५ गते धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका कर्माचारीलाई गरी १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर बाँडफाँड भइसकेको छ । आईपीओ निष्कासनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७