१० बुँदे कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेता असन्तुष्ट, बैठक बहिष्कार गर्ने चेतावनी


८ आश्विन २०७८, शुक्रबार
tesro dhar

काठमाडौं, ८ असोज । नेकपा एमालेको एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्ताव इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै एमालेको तेस्रो धारका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले वैठक बहिष्कारको चेतावनी समेत दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रष्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानि कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए । तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् ।

२७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।
विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट शुरु एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबारको एमाले बैठकमा तीन वटा दस्तावेजमा समूहगत छलफल गर्न आठ वटा समूह बनाइएको छ । तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट नभएसम्म कुनै पनि बैठकमा सहभागी नहुने बताएका हुन् ।

साथै उनीहरुले तेस्रो धारको नेतृत्व गरेका १० जना नेताहरुलाई पनि बैठकमा सहभागी नहुन दवाव दिइरहेका छन् । झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले यस्तो दवाव दिएपछि तेस्रो धारका नेता घनश्याम भुसालले समेत आफू निकटका नेताहरुले अघि सारेको माग जायज भन्दै त्यसबारे स्पस्ट नभएसम्म बैठकमा सहभागी नहुने आफू निकटका नेताहरुलाई बताएका छन् ।

असन्तुष्ट नेताहरु समूहगत छलफलमा सहभागी नहुने र १० बुँदेको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्ष समेत रहेका तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ । एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७