बार–बेञ्च द्वन्द्व : एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित


८ आश्विन २०७८, शुक्रबार
sarbochha

काठमाडौं, ८ असोज । सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिसनबाट दुई÷दुई जना एमिकस क्युरी बोलाउने आदेश भएको थियो, सो आदेशअनुसार नामावली प्राप्त भएको नदेखिँदा नामावली प्राप्त हुने बित्तिकै तत्काल पेसी तोक्न आदेश भएको छ ।’

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यही अध्यादेशमार्फत भएको नियुक्ति विवादको मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अलग हुनुपर्ने र नपर्ने विवाद केही समयदेखि चलिरहेको छ ।

उक्त विवादमा एमिकस क्युरीका लागि नेपाल बारबाट अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई र सर्वोच्च बारले सो बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णय गरेको थियो । इजलासमा एमिकस क्युरी उपस्थित नभएपछि इजलासले अन्य आदेश जारी गर्दै पेसी सारेको छ ।

अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले उक्त विवादमा गत भदौ ४ गते रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७