शेखरको प्रश्न : अझै कति धाँधली गर्ने ? कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ?


८ आश्विन २०७८, शुक्रबार
shekhar koirala

काठमाडौं, ८ असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्ने प्रस्तावप्रति आपत्ति जनाउँदै पदाधिकारीहरूमाथि प्रश्न उठाएका छन् ।

आज (शुक्रबार) बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् । उनले पदाधिकारीलाई महाधिवेशनको मिति सार्ने अधिकारी कसले दियो भन्दै प्रश्न गरेका छन् ।

‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ, महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’ उनले प्रश्न गरेका छन्, ‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ? कतै पदाधिकारी र पूर्व पदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ । यो निर्णय सच्चिनु जरुरी छ ।’

यस्तै नेता कोइरालाले वडा अधिवेशन सकेका जिल्लाहरूमा हिमाली र अन्य जिल्लामा छुट्टा–छुट्टै अधिवेशन गर्ने निर्णय गर्नुको कारण पनि माग गरेका छन् । उनले लेखेका छन्, ‘क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ? सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’

त्यसैगरी नेता कोइरालाले क्रियाशील सदस्यतामा अझै कति दिन धाँधली गर्ने भन्दै नेतृत्वमाथि खनिएका छन् । उनले प्रश्न गरेका छन्, ‘क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७