नेकपा (एस) निकट युवा संघको बैठकमा देखिएको फरक दृश्य


८ आश्विन २०७८, शुक्रबार
Youth

काठमाडौं, ८ असोज : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको सचिवालय बैठकमा नौलो दृश्य देखियो । युवा संघको सचिवालय बैठकमा अध्यक्षमात्रै मञ्चमा देखिए । प्रमुख अतिथि, अतिथि लगायतका शीर्ष नेता सहभागीसँगै अगाडिको कुर्सीमा थिए ।

बिहीबारदेखि सुरु सचिवालय बैठकको प्रमुख अथिति तथा वक्ताका रुपमा मातृ पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित थिए । तर, अध्यक्ष नेपाल अरु कार्यक्रममा जस्तो मञ्चमा देखिएनन् । सहभागीसँगैको पहिलो रोको कुर्सीमा बसे ।

कार्यक्रम सञ्चालकले प्रमुख अतिथि भन्दै उनलाई आसन ग्रहणका लागि सहभागी सँगैको अगाडिको रोमा बस्न आग्रह गरे । केही समय ढिला कार्यक्रममा पुगेका अध्यक्ष नेपालले कार्यक्रम सञ्चालकले आग्रह गरेजस्तै आसन ग्रहण गरे ।

सहभागीको रोमा अध्यक्ष नेपाल
त्यसअघि नै मञ्चमा युवा संघका अध्यक्ष नरेश शाहीले अध्यक्षता ग्रहण गर्दै कार्यक्रम निर्धारित समयमा सुरु गरिसकेका थिए । युवा संघका अध्यक्ष शाहीले नै अध्यक्षता गर्दै कार्यक्रम उद्घाटनसमेत गरिसकेका थिए ।

प्रायजसो कार्यक्रममा प्रमुख अतिथिबाट कार्यक्रमको उदघाटन गर्ने र प्रमुख अथितिलाई मञ्चको अगाडि आकर्षक सोफामा राख्ने चलन छ । तर, युवा संघले पुरानो त्यो चलन तोड्ने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईले बताए ।

‘यतिबेला नेपालको प्रगतिशील वाम आन्दोलन इतिहासकै कठिन मोडमा छ । यो समयले हाम्रो काँधमा ठूलो जिम्मेवारी बोकाएको छ । नेपालको राजनीतिमा नेतृत्वले बोकिरहेको भारी, कुनै न कुनै समय बिसाउने अवस्था छ । त्यो भारी बोक्ने पुस्ता देखिएन, त्यसैले युवा संघ नेपालले त्यो भारी बोक्ने पुस्ता तयार गर्दैछ । त्यसैले पुरानो र भद्दा कार्यक्रम पद्धतिलाई तोड्न सानो सुरुवात संघको केन्द्रीय सचिवालय बैठकबाट गरेका छौँ’ प्रवक्ता राईले भने ।

अबदेखि युवा संघको आयोजनामा हुने हरेक कार्यक्रम यही मोडेलअनुसार हुने उनले बताए । अध्यक्षता गर्ने नेतामात्रै मञ्चमा बस्ने र उनले नै कार्यक्रमको उद्घाटन गर्ने संघले निर्णय गरेको छ ।

युवा संघको नीतिअनुसार प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिहरु सहभागी सँगै बस्ने छन् । प्रमुख अतिथि र प्रमुख वक्तामात्रै रहने व्यवस्था युवासंघले गरेको छ । यस्तै, कार्यक्रममा माला, खादाहरुको प्रयोग नगर्ने र कार्यक्रम निर्धारित समयमै सुरु गर्ने संघको सचिवालय सदस्य सुभाष साहले बताए । युवा संघको यो निर्णय केन्द्र, प्रदेश, जिल्ला, पालिकादेखि वडा स्तरसम्मका सबै कार्यक्रममा लागू गर्न निर्देशन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७