कांग्रेसले टुंग्यायो समावेशी प्रतिनिधित्व विवाद


९ आश्विन २०७८, शनिबार
Congress

काठमाडौं, ९ असोज । कांग्रेसले समावेशी प्रतिनिधित्व विवाद टुंग्याएको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तीन बुँदे निर्णय गर्दै विवाद समाधान गरेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको कार्यदलले गरेको निर्णयअनुसार तल्लो कमिटीबाटै दलित र मधेसी–मुस्लिम–अल्पसंख्यक–अपांगता भएका व्यक्तिमध्येबाट एक–एकको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।

निर्णयअनुसार पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा समावेशी प्रतिनिधित्व नभएको अवस्थामा क्षेत्रीय प्रतिनिधिमध्येबाट एक–एक जना सदस्य थप गरी निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा कार्यदलले विवाद समाधान गरेको हो । कार्यदलले प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधित्व नभएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक–एक जना थप निर्वाचित गरेर प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधित्व नभएको अवस्थामा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक–एकजना थप निर्वाचित हुने व्यवस्था गर्ने व्यवस्था गरिएको छ । यसअघि जनसंख्याको बनोटका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था मिलाइएको थियो । यसबाट अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै विरोध हुँदै आएको थियो ।

कांग्रेस काठमाडौंको नगर अधिवेशन १६ असोजमा
कांग्रेस काठमाडौंको नगर अधिवेशन यही १६ असोजमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवं नगर अधिवेशन ९ असोजमा गर्ने निर्णय गरेको छ । तर, काठमाडौंको भने १६ असोजमा हुनेछ । काठमाडौंका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही ५ असोज गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाइ भएको र केही वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले १६ असोजमा नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।

‘थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएका कारण दक्षिणकाली नगरपालिका– २ र कागेश्वरी–मनोहरा नगरपालिका– ५ को वडा अधिवेशन पुनः गराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ,’ प्रमुख निर्वाचन अधिकृत आचार्यले भने । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र एक सय ३८ वडा रहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७