धौलागिरी आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहल–पहल

दुई कीर्तिमानको प्रयास गरिंदै


प्रकाशित मिति : September 25, 2021

म्याग्दी, ९ असोज । म्याग्दी हुँदै धौलागिरी प्रथम हिमालको आधार शिविर जाने पदमार्ग यतिबेला सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन ।

तर धौलागिरी हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने धौलागिरीको आधार शिविरमा चहलपहल बढ्न थालेको हो । धौलागिरी गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरी हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकले यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन् ।

सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसँगै धौलागिरीको आरोहण र भ्रमण गर्न बाह्य तथा आन्तरिक पर्यटक आउन थालेका छन् । ‘अधिकांश आरोही, पर्यटक, पथपर्दशक, भरियाहरु समेत हेलिकोप्टरमार्फत आधार शिविर पुग्न थालेका छन्’, धौलागिरि–४ बगरका सुकबहादुर सुनारले भने, ‘यस याममा ६ शेर्पा मात्र पदमार्ग हुँदै आधार शिविर गएका छन् ।’

हेलिकोप्टरको प्रयोग गरी झण्डै ८० जना पर्यटक आधार शिविर पुगेका उनले बताए । केही पर्यटक भने मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका छन् । अघिल्ला वर्षहरुमा एउटा याममा दुई पटकसम्म खच्चडबाट सामान ढुवानी गरी आधार शिविर पुर्‍याउने गरिन्थ्यो । यस पटक भने पदमार्ग हुँदै पर्यटकको आगमन भएको छैन । केही वर्षयता धौलागिरी जाने पर्यटकले हेलिकोप्टरको प्रयोग बढी गर्न थालेका छन् ।

काठमाडौंबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरी–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ । पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायी र खच्चड व्यवसायी भने बेरोजगार बनेका छन् ।

आधार शिविरमा पर्यटकको बाक्लो उपस्थिति हुँदा पदमार्गअन्तर्गतका दोभान र इटाली क्याम्पका होटल पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका हुन् । पछिल्लो समय गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ ।

अक्करे पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् ।

‘सेभेन समिट ट्रेक्स’बाट आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । ‘पाइनर एडभेन्चर’ र ‘हिमालयन गाईड’ मार्फत पनि पर्वतारोही आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई भारी वर्षा र ७२ घण्टे पीसीआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोही म्याग्दीबाट हेलिकोप्टरमा आधार शिविर पुग्न थालेको बताउँछन् ।

उनीहरु विभिन्न सवारी साधनमा धौलागिरी–७ ताकम र मङ्गला गाउँपालिकाको बाबियाचौर हुँदै त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुगेका हुन् । ‘हाम्रो व्यवस्थापनमा यस याममा २६ विदेशी र २१ नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्,’ उनले भने ।

धौलागिरीको पहिलो आरोहणको तयारीमा रहेकी पत्रकार पूर्णिमा श्रेष्ठले आफू मार्फा हुँदै पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिइन् । उनले गत वर्ष वैशाखमा नेपाली महिलाको तर्फबाट पहिलोपटक धौलागिरिको सफल आरोहण गरेकी थिइन् । ‘त्यो बेला आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएपछि आरोहण स्थगित गर्‍यौँ’, उनले भनिन् । यस पटक तीन महिला पुनः आरोहणका लागि आधार शिविर गएका छन् । पदमार्ग पहिराका कारण जोखिमपूर्ण रहेको श्रेष्ठको भनाई छ ।

दुई कीर्तिमानको प्रयास गरिँदै
यस पटक धौलागिरीमा दुई कीर्तिमानका लागि प्रयास गरिँदै छ । नेपाली महिला टोली पहिलो पटक धौलागिरि आरोहणको कीर्तिमानको तयारीमा छ । पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र माया शेर्पा आरोहणको तयारीमा छन् । उक्त टोलीले अघिल्लो याममा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको थियो । नेपाली महिलाले अहिलेसम्म धौलागिरिको आरोहण गर्न सकेका छैनन् ।

यस्तै सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने प्रयास समेत यस पटक गरिँदै छ । स्पेनका ८२ वर्षीय कार्लोस सोरिया सो कीर्तिमान बनाउने प्रयासमा छन् । उनी सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसकेका छन् ।

धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११ औं पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् । गत वैशाखमा समेत कार्लोसले धौलागिरी आरोहणको प्रयास गरेका थिए । कार्लोसले आफ्नो ६० देखि ८२ वर्षको उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्गा, अन्नपूर्ण समेत आठ हजार मिटर अग्ला १२ हिमालको अरोहण गरिसकेका छन् । कीर्तिमानको प्रयासमा रहेका दुवै टोलीले यही असोज २९ गतेसम्ममा धौलागिरी आरोहण गरीसक्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्