ईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै


९ आश्विन २०७८, शनिबार
sandeep Kusal1632534811

काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आज शनिबार) देखि शुरु हुँदैछ ।
विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि शुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्ग्स इलाभेन खेल्दै छन् ।

ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल भुर्तेलले पहिलो पटक कप्तानको रुपमा डेब्यू गर्दैछन् । पहिलो पटक कप्तानी गर्न लागेका कुशलले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए । साथै उनले उत्कृष्ट प्रदर्शन गर्ने पनि बताए ।

‘पहिलोपल्ट कप्तानी गर्दैछु । मेरा लागि यो अवसर र चुनौती दुवै हो’, जिम्मेवारी नयाँ भए पनि आफ्नो व्यक्तिगत प्रदर्शनमा कुनै असर नपर्ने भन्दै कुशलले थपे, ‘व्यक्तिगत प्रदर्शनमा कुनै असर पर्दैन । अझै उत्कृष्ट प्रदर्शन गर्ने जोस आउँछ ।’

ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् भने सन्दीप लामिछाने कप्तान रहेको काठमाडौंमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी रहेका छन् । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउने छ ।

२०१८ को सिजन भएको समूह चरणको पहिलो खेलमा काठमाडौंमाथि ललितपुरले १० विकेटको जित निकालेको थियो । त्यसपछि पहिलो क्वालिफायर्समा काठमाडौंमाथि ललितपुरले १ विकेटको जित हात पारेको थियो । त्यस्तै २०१७ मा ललितपुरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । साविकको विजेता ललितपुरले गत सिजनको फाइनल खेलमा भैरहवा ग्लाडियटर्समाथि १४ रनको जित निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७