मेस्सीले लिगको खेल गुमाउने, सिटीविरुद्ध खेल्ने आश


९ आश्विन २०७८, शनिबार
Capture1632536896

काठमाडौं, ९ असोज । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले चोटका कारण मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले मंगलबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा भने मेस्सी उपलब्ध हुने विश्वास व्यक्त गरेका छन् ।

मेस्सीको गत आइतबार राति लियोनविरुद्धको खेलमा वायाँ घुँडामा चोट लागेको थियो । यसै साता आएको एमआरआई स्क्यानको रिपोर्टअनुसार मेस्सीको घुँडाको हड्डीमा चोट लागेको हो । चोटकै कारण मेसीले ७६ औं मिनेटमा मैदान छाडेका थिए । उनले बुधबार मेट्जविरुद्धको खेल गुमाएका थिए । उक्त खेलमा पीएसजी २–१ ले विजयी भएको थियो ।

३४ वर्षे अर्जेन्टिनाका फरवार्ड गत अगष्टमा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट दुई वर्षको सम्झैतामा पीएसजीसँग अनुबन्ध भएका हुन् । मेस्सीको आइतबार पुनः परीक्षण हुनेछ । सम्भवत उनी सिटीविरुद्ध घरेलु मैदानमा हुने खेलका लागि उपलब्ध हुनेछन् ।

‘मेस्सीले आजबाट दौडिन सुरु गरेका छन् । हामीले उनलाई नजिकबाट नियालिरहेका छौं । र आशा छ उनीविना पनि हामी सुखद नतिजा आउनेमा विश्वस्त छौं’, पीएसजीका प्रशिक्षक पोचेट्टिनो भने, ‘आशा गरौं आइतबार सकारात्मक सन्देश आउनेछ । उनी सिटीविरुद्धको खेलमा उपलब्ध हुनेमा विश्वस्त छौं । त्यसका लागि हामीले सावधानी अपनाएका हौं ।’

अर्को साता सिटीविरुद्धको खेल भए पनि शनिबार रातिको खेलका लागि टिम छनोटमा कुनै असर नपर्ने बताए । एन्जेल डी मारियाले लिग खेल खेल्ने सम्भावना छ । गत सिजन सेमिफाइनलमा सिटीविरुद्ध रातो कार्डको सामना गरेका कारण डी मारिया च्याम्पियन्स लिगमा निलम्बनमा परेका थिए ।

‘हामीसँग विभिन्न विकल्पहरु छन् । हामी टिमलाई कसरी सन्तुलित बनाउन सकिन्छ भनेर विचार गर्छौंं । हामी खेलाडी परिवर्तनमा पनि लचिलो छौं’, पोचेट्टिनोले भने, ‘माउरो इकार्डीले राम्रो प्रदर्शन गरिरहेका छन् । अहिले उनी फिट छन् । टिममा प्रभाव छाड्न सफल भएका छन् । हाम्रो आक्रमणमा उनी राम्रो विकल्प हुन् ।’

पीएसजीका मिडफिल्डर मार्को भेरोट्टी पनि प्रशिक्षणमा फर्किसकेका छन् । त्यस्तै रक्षक सर्जियो रामोसले पनि पीएसजीबाट डेब्यू गर्ने सम्भावना छ । उनी पिडौलाको चोटका कारण मैदान बाहिर थिए । जारी सिजन सात खेलमा शतप्रतिशत नतिजा निकालेको पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा छ । मोन्टपेलियर ९ अंकका साथ दशौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७