चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै अस्पताल तोडफोड


९ आश्विन २०७८, शनिबार
242770398 220158200018246 3629671767902741847 n

झापा, ९ असोज । झापाको दमकस्थित एड्भान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । झापा कमल गाउँपालिका–१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।

भएको के हो ?

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । दमकको एडभान्स अस्पताल लगियो । डा. अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए ।

अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुईटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ । ‘तीन मिनेटमै दुईटा सुई लगाएपछि बालकलाई गाह्रो भयो । हामी बाबु बोकेर फेरि अस्पताल गयौं । अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो । डाक्टरले लापरवाही गर्‍यो । हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो,’ मृतकका आफन्त सरोज खड्काले भने ।

चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन् । हिजोदेखि शव अस्पतालमै छ । खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेको थियो । तर प्रशासनले आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ । आफूहरुको कुरा नसुनेको भन्दै पीडित परिवारले अस्पतालमा तोडफोड गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७