निर्धारित ६४ मध्ये १० जिल्लामा हुन सकेन आज कांग्रेसको पालिका अधिवेशन


९ आश्विन २०७८, शनिबार
congress

काठमाडौं, ९ असोज । सत्तारुढ कांग्रेसले आज (शनिबार) ६४ जिल्लामा पालिका अधिवेशन हुने बताए पनि ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने आज अधिवेशन हुन नसकेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

१० जिल्लामा आज तयारी नपुगेका कारण क्रमशः गर्ने गरी जिल्ला निर्वाचन अधिकृतले नै मिति तोकेका छन् । कतिपय ठाउँमा भने मतदाता नामावली नै तयार नभइसकेका कारण अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिले शनिबार ५४ जिल्लामा गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको अधिवेशन शुरु भएको जनाएको छ । समितिका सदस्य एगराज पोखरेलले कतिपय ठाउँमा सहमतिबाटै नेतृत्व चयन भएको र कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । ‘कहाँ–कहाँ भइसक्यो भन्ने यकिन तथ्यांक तयार भइसकेको छैन । तर, शनिबार ५४ जिल्लामा एकैसाथ पालिका तहको अधिवेशन शुरु भएको छ । आजै नसकिए पनि एक–दुई दिनभित्रै ती ठाउँमा अधिवेशन भइसक्छ,’ पोखरेलल सुनाए ।

शनिबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा भने अधिवेशन हुन सकेन । काठमाडौंमा कतिपय वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ । सिन्धुपाल्चोकमा भने अर्को मिति नतोकिएसम्मका लागि स्थगित छ । केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

‘निर्वाचन अधिकृतहरुले परिवेशअनुसार सहमतिबाट मिति तोकेर केन्द्रीय कार्यतालिकामा प्रभाव नपर्ने गरी अधिवेशन गराउँछन् । हामीले यहाँबाट तोकिएको मिति एउटा फ्रेम एरियामात्रै हो,’ निर्वाचन समितिका सदस्य पोखरेलले भने । उनका अनुसार पहाड र तराईका जिल्लामा भने दशैंअघिसम्म पालिका अधिवेशन गराए हुने अवस्था छ । तर, हिमाली जिल्लामा भने १२ गते प्रदेशसभा क्षेत्रस्तरीय अधिवेशन भएकाले त्यो मितिभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने दबाब छ । कांग्रेसले हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मकै अधिवेशन गरिसक्ने भनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ७५३ वटै स्थानीय तहमा एकै दिन अधिवेशन गर्नुपर्ने प्रस्ताव गरे पनि वडा अधिवेशन भइसकेका जिल्लामा समेत अधिवेशन हुन सकेन । अझ १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो लागेको छैन । हिमाली जिल्लामा भने १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७