अध्यादेशबारे निर्णय लिई मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्रीलाई सत्ता गठबन्धनको आग्रह


१० आश्विन २०७८, आईतवार
bipaxi latest photo

काठमाडौं, १० असोज । सत्तारुढ पाँच दलीय गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिई केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) को अडान छ ।

अध्यादेश र त्यसअनुसार भएका कामविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन । अब अध्यादेश फिर्ता लिन एकीकृत समाजवादीका नेताहरु सकारात्मक देखिएको भन्दै एक नेताले भने, ‘एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुसँग छलफल गरेर टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको छ ।’ सत्तारुढ दलहरुसँग छलफल गरेर केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको एक नेताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७