नेपालका ६८ हजार बढी महिलाले लिन्छन् हरेक वर्ष सुरक्षित गर्भपतन सेवा


१० आश्विन २०७८, आईतवार
Garvapatan

काठमाडौं, १० असोज । आज (आइतबार) सातौं राष्ट्रिय सुरक्षित दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका लागि यस वर्षको नारा ‘सुरक्षित गर्भपतनको अधिकार : मौलिक हक सुनिश्चिताको आधार’ तय गरिएको छ ।

नेपालमा मुलुकी ऐनको ११ औं संशोधन २०५८ मार्फत सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइएको थियो । १९ वर्षको अवधिमा (अर्थिक वर्ष २०७७ / ७८ सम्म) एक हजार ५०० स्वास्थ्य संस्थाबाट हालसम्म १३ लाख (वार्षिक ६८ हजारभन्दा बढी) महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको तथ्यांक छ ।

सुरक्षित गर्भपतन सेवालाई नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा समेटिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ मा महिलाको मञ्जुरीमा १२ हप्तासम्म र यस बाहेक विभिन्न अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था उल्लेख छ । तर, ऐनमा राखिएको व्यवस्था व्यावहारिक नभएको भन्दै पछिल्लो समय १८ हप्तामाथिको गर्भपतन सेवा अन्योलमा परेको छ ।

त्यस्तै, नेपालका ४२ प्रतिशत महिला मात्र उक्त कानुनबारे जानकार रहेको र बाँकी ५८ प्रतिशत महिला अझै पनि गर्भपतनसम्बन्धी वैधानिक व्यवस्थाबारे अनविज्ञ रहेको महाशाखाको तथ्यांक छ । सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्थालाई अझै प्रष्ट पार्न र सेवाको पहुँच बढाउन विभिन्न स्तरबाट पहल भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७