‘भिसी’ कुलबीर थापा मगर : बहादुर र दयाको खानी


१० आश्विन २०७८, आईतवार
thapa

गाउँमा हलो जोत्नु पर्थ्याे– त्यसबेला । खेतबारीको कामभन्दा अरु काम खासै थिएन । दुःख धेरै थियो । युवाहरु गाउँबाट लुकेर, भागेर ‘लाहुर’ जान्थे । यस्तैमा बागलुङ जिल्लाको दुर्गम निगलपानीका कुलबीर थापा मगर पनि १० – १२ दिन हिंडेर ब्रिटिश ईष्ट इण्डिया कम्पनीको सम्पर्कमा कुनाघाट पुगे । उनको छातीमा नम्बर लेखियो –२१२९ ।

जन्म मिति खासै थाहा थिएन उनलाई; ब्रिटिशले रेकर्डबुकमा लेखिदिए– १५ डिसेम्बर १८८८ । खाकीको कपडा र बुटपट्टि दिइयो । तम्बुमा सुत्नु पर्थ्याे, मेसटिन र काँटाचम्चा बोकी कुकहाउसमा लाइन लागेर खाना खानु पर्थ्याे । दिनदिनै जसो गोली हान्ने, खुकुरी नचाउने जस्ता दुश्मन मार्ने तौरतरिकाको अभ्यास हुन्थ्यो । किनकी त्यसबेला प्रथम विश्वयुद्ध हुँदै थियो र साम्राज्यबादी ब्रिटिशले भारतीय भूमिमा गोर्खालीलगायत अन्य इण्डियन फौजलाई यसरी तयार गर्दै थियो ।

242909872 996364987869747 5710706748149251458 n

झण्डै २६ बर्षको उमेरमा कुलबीरको पल्टन तेस्रो गोर्खा राईफल्स अन्य पल्टनहरुसहित फ्रान्समा जर्मनहरुको बिरुद्ध लड्न पुग्यो । उनीहरुको पहिलो घमासान लडाई भयो –नुभे चापेलको युद्धमा । उच्च ठाउँमा खाल्डो (ट्रेन्च) खनेर लुकिछुपी बसेको जर्मन फौजले कुलबीरको पल्टनमा एकैचोटी हमला गरे । पल्टनको ग्याँस सेल ध्वस्त भयो । सबैले मास्क लगाएर अघि बढ्नु पर्ने बाध्यता आयो । राम्रो डिफेन्स बनाएर बसेको जर्मनीलाई माथिबाट हमला गर्न त्यति गाह्रो थिएन । ब्रिटिश फौजको धेरै सिपाहीहरु मारिए, धेरै घाइते भए । कुलबीरलाई पनि गोली लाग्यो । उनी पनि घाइते भए ।

घाइते भएता पनि कुलबीर अघि बढी रहे । यस्तैमा उनले लेस्टरशायर पल्टनको एक जना सिपाहीलाई ढलेको अबस्थामा फेला पारे । उनलाई काँधमा बोकेर अलिक सुरक्षित ठाउँमा लगेर गोली लागेको चोटबाट रगत बग्न नदिन मलमपट्टी बाँधी दिए । अनि फेरि आफ्नो ज्यानको प्रबाह नगरी उनी फेरि जर्मनी फौज बसेको ईलाकामा गई अन्य २ जना घाइते गोर्खाली सिपाहीहरुलाई अलिक सुरक्षित स्थलमा ल्याए । उनीहरुको प्राथमिक उपचार गरे । यति गर्दा–गर्दै बिहान हुन लागेको थियो । उनले यसरी ३ जना सहपाठीलाई सुरक्षित साथ ब्रिटिश फौजको ईलाकामा उतारे ।

उनको यस्तो साहसिक कामको उच्च प्रशंसा भयो । आफ्नो ज्यानको प्रबाह नगरी, घाइते अबस्थामा दुष्मनको ईलाकाबाट सहपाठीलाई उद्दार गर्नु वास्तवमा दर्जनौ दुष्मन मार्नुभन्दा ठूलो काम थियो । सन् २५ सेप्टेम्बर १९१५ को दिन उनले युद्धमा देखाएको यस प्रकारको साहसलाई उच्च सम्मान गर्दै ब्रिटिश सरकारले उनलाई ‘भिक्टोरिया क्रस’ प्रदान गर्‍यो । सन् १८५७ बाट दिन शुरु गरिएको ब्रिटिश साम्राज्यको यो सर्बोच्च पदक बिदेशी फौजलाई दिएको यो नै पहिलो थियो ।

पहिलोचोटी नेपाली बहादुर छोराको नाम लण्डन ग्याजेटमा सन् १८ नोभेम्बर १९१५ मा यसरी छापिएको थियो :
‘२१२९ राईफल म्यान कुलबीर थापा, २ /३ गोर्खा राईफल्स । दक्षिणी माउकिसार्टमा जर्मनबिरुद्धको युद्धमा सर्बोत्कृष्ट बहादुरी देखाएबापत । सन् २५ सेप्टेम्बर १९१५ मा, आफै घाइते भएता पनि, आफ्नो ज्यान जोगाउने सल्लाह दिंदा पनि, उनी २ लेष्टरशायर पल्टनको घाइते सिपाहीलाई जर्मनको ट्रेन्च पछाडि रातदिन कुरी बसे । २६ सेप्टेम्बरको बिहानीपख कुईरो लाग्दा दुष्मनको आँखा छलेर त्यो घाइते सिपाहीलाई उनले सुरक्षित ठाउँमा ल्याए । त्यसपछि उनले अरु २ जना घाइते गोर्खाली सिपाहीहरुलाई पनि सुरक्षित ठाउँमा ल्याए । त्यसपछि उज्ज्यालो दिनमा, दुष्मनको गोली बर्संदै गर्दा पनि जोगिदै त्यो घाइते ब्रिटिश सिपाहीलाई सुरक्षित ठाउँमा ल्याए ।’

यिनै कुलबीर थापा मगर ‘भिसी’ को त्यो बहादुरी, निःस्वार्थ सेवाभावको सम्मान जत्ति गरे पनि कमै हुन्छ । उनी मात्र भिसी भने होइन, ब्रिटिश फौजमा २०६ बर्ष योगदान गरिसक्दा १३ जना गोर्खालीहरु भिसीबाट सम्मानित भईसकेका छन् । अन्य पदकहरु पाउने गोर्खालीहरु सयौं छन् । उनीहरुको उच्च सम्मान गर्दै ब्रिटिश सरकारले कुलबीर थापाको फोटो राखी हुलाक टिकट बनाएको छ । तुलबहादुर पुन भिसीको नाममा एउटा रेलको नामकरण गरेको छ ।

हालै मात्र फार्नबरो र अल्दर्शट क्षेत्र, जहाँ १५ प्रतिशत गोर्खालीहरु बसोबास गर्दछन् । त्यहाँ झण्डै ३ करोड रुपैयाँको लागतमा उनै कुलबीर थापा मगर भीसीले घाइते ब्रिटिश सिपाही, बिल केह्टली, लाई काँधमा बोकेर सुरक्षित ठाउँमा लग्दै गरेको पूर्णकदको मूर्ति स्थापना गरेको छ । यस पटकको यो महान कार्य भने गोर्खालीहरुको आफ्नै प्रयासमा भएको हो । गोर्खालीहरुको बारेमा कम ज्ञान भएको नयाँ पिंढीलाई प्रिन्सेस् गार्डेनमा ठिङ्ग उभिएको यस मूर्तिले २ वटा सन्देश दिनेछ : एक, नेपाल–बेलायत घनिष्ठ सम्बन्धको मूल कारण गोर्खाली हो र दुई, गोर्खालीहरु बहादुर मात्र होइन, दयाको खानी पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७