१० देशका राजदूत पोखरामा, कोरोनाले ६० वर्षअघिको अवस्थामा फर्कायो नेपालको पर्यटन


१० आश्विन २०७८, आईतवार
pokhara 4

पोखरा, १० असोज । ४१ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् ।
पोखरा एयरपोर्टमा आइतबार विभिन्न १० देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ सदस्यीय टोली एकै साथ ओर्लिएको हो ।

उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।

गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा आएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत रहेका छन् । तीमध्ये जर्मनी, श्रीलंका, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउने गर्दछन् ।

नेपालको पर्यटन उद्योग सन् १९६० को दशकबाट शुरु भएको हो । पर्यटन मन्त्रालयका अनुसार सन् १९६४ मा जम्मा ९ हजार ५२६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि नेपाल आउने पर्यटकको संख्या बढ्दै गयो । सन् १९९८ मा यो संख्या ४ लाख ६३ हजार ६२४ पुग्यो ।

नेपालले सन् १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएको थियो । नेपालमा सबैभन्दा बढी पर्यटन चाहिँ सन् २०१८ र २०१९ मा भित्रिए । कोभिड सुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय १ जना पर्यटकले नेपाल भ्रमण गरे ।

तर, सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा पुग्यो । सन् २०१९ मा ती पर्यटकले औसत १२.७ दिन र २०२० मा आउनेले १५ दिन नेपालमा बिताए । सन् २०१९ मा भारत २ लाख ५४ हजार १५०, अमेरिकाका ९३ हजार २ सय ४१ जना तथा ६१ हजार १४४ जना बेलायतका पर्यटक नेपाल आए । यता, सोही अवधिमा थाइल्याण्डबाट ४१ हजार ६६०, दक्षिण कोरियाबाट ३१ हजार १०८, श्रीलंकाबाट ५६ हजार ३१६, बंगलादेशबाट २५ हजार ४ सय ८९, मलेसियाबाट ३ हजार ४६० जना पर्यटक नेपाल भित्रिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७