कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो


१० आश्विन २०७८, आईतवार
Congress Sher bahadur deuwa ramchandra paudel

सुर्खेत, १० असोज । कर्णालीका १० मध्ये केही जिल्लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनका स्थानीय तहका प्रतिनिधि छानिने क्रम जारी छ । केही जिल्लामा स्थानीय तहका प्रमुख पदाधिकारीका लागि निर्वाचन भइरहेको छ ।

कर्णालीका सल्यान, कालिकोट र दैलेख जिल्ला स्थानीय तहमा कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको छ । कालीकोट, दैलेखमा देउवा मजबुत देखिएका छन् भने सल्यानमा बराबर स्थानीय तहमा दुवै पक्षले पाएका छन् । कालीकोटका नौ स्थानीय तहमध्ये पाँच वटामा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ ।

रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिका नेतृत्व चयन हुन बाँकी छ । त्यस्तै दैलेखका ११ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा नेतृत्व चयन भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँच वटा स्थानीयतहमा देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ ।

पाँच पालिकामध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन् । नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन् । डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । सल्यान जिल्लामा देउवा र पौडेल प्यानलबाट समान पाँच–पाँच स्थानीय तहमा विजयी भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनमा एक स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो भने बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो । सर्वसम्मत भएको त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा प्यानलका हुन् भने सिद्धकुमाख गाउँपालिकामा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल प्यानलका हुन् ।

यस्तै चुनावबाट सम्पन्न मत परिणामअनुसार देउवा प्यानलले बनगाड कुपिण्डे, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जित हासिल गरेको छ भने पौडेल प्यानलले शारदा नगरपालिका, कपुरकोट, कालिमाटी र दार्मा गाउँपालिका विजय हासिल गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७