प्रेमले लियो कक्षा ११ मा पढ्दै गरेकी १८ वर्षे किशोरीको ज्यान


११ आश्विन २०७८, सोमबार
Ram Karki Taplejung scaled

ताप्लेजुङ, ११ असोज । ताप्लेजुङकी एक किशोरीको माया प्रेमका कारणले ज्यान गएको प्रहरीले जनाएको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका– १० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

तीन दिनअघि अर्थात् गएको शुक्रबार बिहान फुङ्लिङ नगरपालिका– ७ दोखुको सेती चौतारा नजिक निगाले भीरमा १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको शव फेला परेको थियो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका– ३ लिङ्खिम घर भई हाल सदरमुकाम फुङ्लिङको बिहीबारे टोलमा डेरा गरी बस्दै भएकी पुष्पाको शव शंकास्पद अवस्थामा फेला परेपछि सोहीअनुसार प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

पीडित परिवारले समेत पुष्पाको हत्या भएको र हत्यामा संलग्नता हुन सक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहेरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैले हत्या गरेर शव फालेको स्वीकारेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हत्या आरोपी कार्की र किशोरीबीच आठ–नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध समेत भएको थियो । विवाहको प्रसंग उठाउँदा अस्वीकार गरेपछि विवाद हुँदा किशोरीको हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । लामो समयदेखि नै आफूलाई गाली गलोज गर्ने तथा अनावश्यक तनाव दिने गरेका कारण योजनामै हत्या गरेको कार्कीको बयान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता, घटना भएको सुरुकै दिनदेखि आफन्तले भने पुष्पाको हत्या भएको र हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव जिम्मा नबुझ्ने बताउँदै आएका थिए । आइतबार बिहान मात्र पीडित परिवारले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउनमा प्रहरी प्रशासन उदासीन भएको आरोप लगाएका थिए । आफूहरूले आशंका गरेका व्यक्तिविरुद्ध सुरुमै किटानी जाहेरी दिँदा समेत प्रहरीले बेवास्ता गरेको पनि उनीहरूको गुनासो थियो ।

हत्या गरिएकी पुष्पाका बुबा वीरबहादुर लिम्बूले छोरीको हत्या नै भएको आशंकामा किटानी जाहेरी दिएको र घटनामा संलग्नलाई पक्राउ नगरेसम्म न्यायका लागि आन्दोलित हुने साथै महिनौं दिनसम्म पनि शव नबुझ्ने पत्रकार सम्मेलनमा बताएका थिए । प्रहरीको उदासीनता वा बेवास्ताले पीडित परिवारलाई थप पीडा र उत्तेजनामा पुर्‍याएकाले घटनाको सत्यतथ्य पत्ता लगाउन अधिकारकर्मी, संचारकर्मी समेतलाई सहयोग गर्न उनले आग्रह गरेका थिए ।

हत्या आरोपी सार्वजनिक गरेपछि आफन्तले शव बुझेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा शव पोस्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । प्रनाउ राणाका अनुसार जिल्ला अदालतबाट म्याद थपेर आरोपी उपर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७