कांग्रेस अधिवेशन : पाँचथरका अधिकांश स्थानमा युवा नेतृत्व चयन


११ आश्विन २०७८, सोमबार
112827245242807681 4126959187415769 4711885185506798780 n

पाँचथर, ११ असोज । पाँचथरका आठमध्ये तीन स्थानीय तहमा नेपाली कांग्रेसले चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । स्थानीय तहको नेतृत्व पाएका अधिकांश युवा तथा जनप्रतिनिधिहरू छन् ।

जिल्लाका याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको छ । १४ वटा वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ नेतृत्वको प्यानलको फिदिमका नगर प्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलसँग चुनावी प्रतिस्पर्धा भएको थियो । २६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा २६० जनाले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी नेम्वाङले एक सय आठ मत प्राप्त गरे ।

फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी भएका छन् । उनीहरुले समान १३७ मत प्राप्त गरे । उपसभापतिका अर्का उम्मेद्वार श्रीप्रसाद घिमिरेले १३२ मत गरे । उपसभापतिका तीनै जना उम्मेद्वार वडाध्यक्ष हुन् । यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी भएका छन् । उनीहरुले क्रमशः १५८ र १३६ मत प्राप्त गरे । सचिवमा निर्वाचित गुरुङ फिदिम–३ का वडाध्यक्ष हुन् । यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई निर्वाचित भएका छन् । उनीहरु सबै युवा हुन् ।

यस्तै कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी भएका छन् । नेम्वाङ फाल्गुनन्द–३ पौवासारतापका वडाध्यक्ष हुन् । आइतवार राती सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मनप्रसाद चेम्जोङले ४४ मत प्राप्त गरे । सातवटा वडा रहेको फाल्गुनन्दमा कांग्रेसका एक सय ३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा एक सय २२ जना मतदान प्रक्रियामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सविन माबोले ५१ मत प्राप्त गरे ।

यस्तै, सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित भए । उनीहरुका प्रतिद्वन्द्वी सुवासचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गरे । यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी भएका छन् । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित भए । उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष हुन् । यहाँ निर्वाचित सचिव, सहसचिव लगायत पदाधिकारी युवा छन् ।

बाँकी पाँचवटा गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरबिक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बावुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ ।

गाउँपालिका सभापति निर्वाचित भएका फालेलुङका सभापति थाम्सुहाङ र मिक्लाजुङका सभापति शेर्मासमेत वडाध्यक्ष हुन् । कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । सहमतिमा टुङ्गिएका स्थानीय तहका अधिकांश नेतृत्वमा युवा पुस्ताले स्थान पाएका छन् ।

कांग्रेसको जिल्ला कार्यसमिति सभापतिमा काँग्रेसका पाँचथरका पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूवीच प्रतिस्पर्धा हुन लागेको छ । दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन् । दुवै पक्षले जिल्ला कार्यसमितिको पदाधिकारीमा युवा पुस्तालाई उल्लेख्य स्थान दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७