राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सिफारिस


११ आश्विन २०७८, सोमबार
deuwa cabinet 1

काठमाडौं, ११ असोज । सरकारले नेकपा एमाले विभाजनको योजनासहित ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

आज (सोमबार) साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दलसम्बन्धी उक्त अध्यादेश फिर्ता लिँदै राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारले राजनीतिक दल विभाजनको अध्यादेश प्रतिनिधि सभामा पेश गरे पनि छलफलका लागि प्रक्रियामा अघि बढाएको छैन । सरकारले एमाले विभाजनका लागि माधवकुमार नेपाललाई सहज बनाई दिन ४० प्रतिशतको थ्रेस होल्ड घटाएर २० प्रतिशतमा झारिदिएको थियो ।

त्यसकै सहयोगमा नेपालले एमाले विभाजित गरिसकेका छन् । त्यस्तै यही अध्यादेशको सहयोमा जसपाबाट अधिकारिकता गुमाएका महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी बनाइसकेका छन् । अध्यादेश फिर्ता लिएसँगै मंगलबार वा बुधबारसम्म मन्त्रिमण्डल विस्तार तयारी पाँच दलीय गठबन्धनले गरेको छ ।

मन्त्रिपरिषद् विस्तारका क्रममा सहभागी हुन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सम्भावित मन्त्रीको सूची प्रधानमन्त्री देउवालाई बुझाइसकेको एक नेताले जानकारी दिएका छन् । अध्यादेश फिर्ता लिएसँगै सोमबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालय भागवण्डाको टुंगो लगाउने तयारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७