अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति


१२ आश्विन २०७८, मंगलवार
satta

काठमाडौं, १२, असोज । सरकारले दल विभाजनलाई सहज बनाउनेगरी ल्याएको अध्यादेश खारेज भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खारेज गरेकी हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ख बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने गरी गत १ भदौमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको थियो । सो अध्यादेशलाई राष्ट्रपतिले २ भदौमा जारी गरेकी थिइन् ।

राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ ।

‘गठबन्धन आबद्ध दलबीचमा कांग्रेसले कुल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६ /६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ,’ गठबन्धनका एक शीर्ष नेताले भने ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । ‘मन्त्रालयको भागबन्डा मन्त्रालयको भागबन्डा केही दिनअघि नै टुंगिएको हो, सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाले समान रूपमा एक राज्यमन्त्रीसहित ६ /६ मन्त्रालय लिनेगरी सहमति जुटेको हो,’ गठबन्धन आबद्ध ती नेताले थपे ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।

मन्त्रालयको भागबन्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको सूची बुझाउनेक्रम समेत सुरु भएको छ । नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको सूची सोमबार नै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

हाल कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन फुलमन्त्री र एक राज्यमन्त्री गरी पाँच जना सरकारमा छन् । यस्तै, माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री छन् । सहमतिअनुसार अब कांग्रेसले तीन मन्त्रालय पाउनेछ । योसहित कांग्रेसको भागमा छ फुल मन्त्री र एक राज्यमन्त्री रहनेछन् । तर, राज्यमन्त्रीको फुलमन्त्रीमा बढुवा हुने सम्भावना पनि बढेको छ ।

यस्तै, माओवादी केन्द्रले अब तीन फुलमन्त्रीसहित एक राज्यमन्त्री गरी चार, माधव नेपाल नेतृत्वको दल नेकपा एसले एक राज्यमन्त्रीसहित ६, उपेन्द्र यादव नेतृत्वको दल जसपाले पनि एक राज्यमन्त्रीसहित छ मन्त्रालय पाउनेछ । बालुवाटार स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ ।

यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयमा फुल मन्त्री बनाउने सम्भावना छ । कानुन मन्त्रालय भने कांग्रेसकै भागमा हुनेछ । सो मन्त्रालयको जिम्मेवारी भने नेत्री पुष्पा भुषाललाई दिने तयारी भएको छ ।

२९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल कांग्रेस र माओवादीबाट सोही दिन दुई /दुई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई १० साउनमा ल्याएका थिए । त्यसपछि केही दिनअघि मात्रै देउवाले आफ्नै दलबाट परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई सरकारमा भित्र्याएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७