वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किदै


१२ आश्विन २०७८, मंगलवार
bidesh 1

काठमाडौं, १२, असोज । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ ।

सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रम स्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए ।

कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७