व्यापारीका अपहरणकारीले सफाइ पाएपछि प्रहरीमाथि नै थालियो अनुसन्धान


१२ आश्विन २०७८, मंगलवार
Ashok Sing

काठमाडौं, १२, असोज । अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति गठन गरेको छ । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका दुर्गाबहादुर बुढाथोकीलाई नाम नमिलेको भन्दै अदालतले निर्दोष सावित गरेपछि प्रहरीमाथि नै छानविन गर्न समिति गठन भएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानविन समिति गठन गरिएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहको संयोजकत्वमा गठित छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव परीक्षक रविन कार्की, प्रहरी निरीक्षक ईश्वर कार्की र प्रहरी नायव निरीक्षक घनश्याम उप्रेती सदस्य रहेको पालले जानकारी दिए ।

‘अपहरणको आरोपमा पक्राउ परेका व्यक्ति नाम नमिलेको भन्दै अदातलले निर्दोष सावित गरेपछि प्रहरीमाथि नै प्रश्न उठेकाले छानविन समिति गठन गरिएको हो,’ पालले भने, ‘समितिलाई उक्त घटनामा प्रहरीको भूमिकाबारे अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।’

गत मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले रावलको अपहरणमा संलग्न भनिएका बुढाथोकीलाई सफाइ दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुढाथोकीलाई रावलको अपहरण काण्ड भएको १२ वर्षपछि गत पुसमा भारतको दार्जिलिङबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

त्यसअघि बुढाथोकी एक पटक पक्राउ परेर पनि हिरासत ब्रेक गरी फरार भएका थिए भने एक पटक प्रहरीको पन्जा फुत्किएका थिए । १ पुस २०६५ मा रावलको अपहरण भएको थियो । गाडीमा हालेर चार-पाँच जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो । उक्त कार्यमा संलग्न रहेको आरोप बुढाथोकीमाथि लागेको थियो ।

अपहरण तथा शरीर बन्धक जस्तो जघन्य अपराधमा प्रहरीले प्रतिवादी बनाएका बुढाथोकीले अदालतमा आफू भारतीय नागरिक भएको र घटनामा संलग्न भनिएको व्यक्ति आफू नभएको बयानसहित प्रमाण पेस गरेका थिए । तर प्रहरी अनुसन्धानमा भने उनी नेपाली भएको कुनै कागजात थिएन ।

बुढाथोकीले भारतीय आधार कार्ड र जन्मदर्तासम्मका कागजात अदालतमा पेस गरेका थिए । तर मिसिलमा भने बुढाथोकी नेपाली भएको भन्ने उनको मौखिक बयानबाहेक त्यसलाई प्रमाणित गर्ने कुनै कागजात थिएन । यही आधारम बुढाथोकीले सहजै उन्मुक्ति पाएका हुन् ।

रावलले आफूलाई अपहरणपछि बन्धक बनाउँदा स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाउन बुढाथोकीकै संलग्नता रहेको दाबी गरेका थिए । बुढाथोकीले समेत त्यो कुरा प्रहरी समक्ष स्वीकारेको मिसिलमा खुलेको छ । बुढाथोकीले रावल अपहरण घटनामा आफूले सुरुमा ११ लाख रुपैयाँ पाएको र पछि प्रह्लाद महतले ६ लाख रुपैयाँ फिर्ता मागेको समेत प्रहरीलाई बताएका थिए ।

अदालतमा भने उनले इन्कारी बयान दिएका थिए । बुढाथोकीसहित सर्लाहीकै प्रह्लाद महत, विष्णु जिसी, बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङको समूहले रावललाई अपहरण गरेर एक करोड ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

बुढाथोकी बाहेक अन्यलाई भने प्रहरीले यसअघि नै पक्राउ गरेर अदालतले समेत दोषी ठहर गरेको थियो । जसमध्ये महत र जिसीलाइ संविधान दिवसको अवसरमा आइतबार चालचलन सुधार भएको भन्दै सरकारले बाँकी कैद मिनाह गरेको छ । न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७