धादिङ जिल्लास्तरीय फोटो प्रतियोगितामा पाँच जना उत्कृष्ट


१२ आश्विन २०७८, मंगलवार
Dhading scaled

धादिङ, १२, असोज । धादिङ जिल्लास्तरीय फोटो प्रतियोगितामा पाँच जना उत्कृष्ट बनेका छन् । शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठले खिचेको फोटोले दैनिक जनजीवन विधामा उत्कृष्ट पुरस्कार जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल धादिङ शाखाले श्रेष्ठको फोटोलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको छ ।

पर्यटन दिवसको अवसरमा आयोजित एक समारोहकाबीच धादिङ शाखाले श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । श्रेष्ठले उत्तरी धादिङको रुवी भ्यालीमा हलोजुवा बोकेर खेततर्फ गइरहेका किसानको फोटोले दैनिक जनजीवन विधातर्फ पुरस्कार जित्न सफल भएको हो ।
प्रतियोगितामा धादिङको दैनिक जनजीवन, पर्यटन, महिला तथा बालबालिका, कला धर्म र संस्कृति र आर्थिक गरी पाँच विधाका उत्कृष्ट पाँच फोटोलाई पुरस्कृत गरिएको थियोे ।

halo

दैनिक जनजीवन विधामा शिलापत्रकर्मी श्रेष्ठसहित पर्यटन विधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा सागर बस्नेत, कला धर्म र संस्कृति विधामा अर्जुन श्रेष्ठ र आर्थिक विधामा पुजा थापा पुरस्कृत भएका छन् । विजेताहरूलाई नगद २० हजार, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा पर्यटन विधातर्फ ४७, महिला बालबालिकातर्फ ३०, दैनिक जनजीवनतर्फ ३१, कला संस्कृति धर्ममा २३ तथा आर्थिक विधामा १५ वटा गरी कूल १४९ वटा फोटो समावेश थिए ।

Tourism

राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, महासचिव नवराज श्रेष्ठ र काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी फोटो प्रतियोगिताको निर्णायक रहेका थिए ।

child

पर्यटन विधातर्फ फोटो पत्रकार लाला गुरुङले खिचेको उत्तरी धादिङको ५ हजार ८९६ मिटर उचाइमा रहेको प्याल्दोर पास गर्ने क्रममा भारी बोकेर हिउँमा हिँडिरहेका भरियाहरुको फोटो उत्कृष्ट भएको हो । महिला तथा बालबालिका विधामा उत्तरी धादिङकै रुवीभ्यालीमा स–साना बालबालिकाहरूले आफूभन्दा साना बाबुनानी बोकिरहेको पत्रकार सागर बस्नेतले खिचेको फोटो उत्कृष्ट भएको छ ।

jogi

कला धर्म र संस्कृति विधामा भैरवी मन्दिरमा एक बालकले नगरा लगाइरहेको पत्रकार अर्जुन श्रेष्ठले खिचेको फोटो उत्कृष्ट भएको छ । आर्थिक विधामा नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा कानुन अध्ययनरत नीलकण्ठ नगरपालिका–१२ कि पुजा थापाले खिचेको मेसिनबाट कोदो कुटिरहेको उत्कृष्ट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७